दमक नगरपालीका र कमल गाउँपालीकाको सहकार्यमा चासोक तङनाम भभ्यताको साथ मनाइयो ।
याक्थुङ लिम्बू समुदायले अन्नबाली पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चोखो नयाँ अन्न चढाएर पूजा गर्दछन् । अन्नबाली खेती गर्न सिकाउने पुर्खा सम्झेर मनाउने चासोक तङ्नाम अन्नबाली भित्र्याउँदाको उत्सव र कृषि युगसँग जोडिएको मुन्धुमी विरासत हो । चारदशक अघिसम्म पूर्वी नेपालमा बसोबास गर्ने प्रकृतिपूजक याक्थुङ समुदायमा चासोक तङ्नाम चर्चाको विषय थिएन । भारतीय संस्कृतिको अतिक्रमणले गाँजेको र शाहवंशको उदयपछि राणा र पञ्चायतकालभरि यसबारे कुनै अभियान चल्न सक्ने कुरा पनि भएन । आफ्ना मौलिक भाषा, लिपि, कला, संस्कृतिदेखि मुन्धुम र गीत संगीत बिर्सने क्रममा रहेका बेला २०४८ सालमा भएको व्यवस्था परिवर्तनले पूर्वका याक्थुङ लिम्बूको मस्तिष्क हल्लायो । यसपछि बिस्तारै परम्परागत मौलिक कला, संस्कृतिका साथै मुन्धुमको खोजी, यसको अध्ययन, अनुसन्धान र प्रचारात्मक कामहरू हुनथाले ।